काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पुर्वकप्तान पारस खड्काले शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको लेजेन्ड्स लिग २०२४ नखेल्ने भएका छन् । पारसलाई अक्सनमा गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो । तर पारसले व्यक्तिगत कारणले उक्त लिग खेल्न जान नपाउने भएका छन् ।
‘म लेजेन्ड्स लिग खेल्न जान भ्याउँदिन । अहिले क्यान र प्रदेशको वार्षिक साधरण सभा तथा नेपाल प्रिमियर लिग(एनपीएल) मा ब्यस्त छु’, पारसले भने ।
पारस आवद्ध गुजरातमा वेस्ट इन्ण्डिजका क्रिस गेल, भारतीय शिखर धवन, मोहम्मद कैफ, श्रीशान्त, वेष्ट इण्डिजका लेन्डन सिमन्स र इंग्ल्यान्डका लियाम प्लेन्केट जस्ता खेलाडी छन् । क्यानको वार्षिक साधरण सभा असोज ११ र १२ गते पोखरामा हुँदैछ । जिल्ला र प्रदेशको साधारण सभा निरन्तर जारीछ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन भने दशैंअघि गर्ने तयारी भइराखेको छ ।