काठमाडौं। लेबनानमा इजरायलले आक्रमण गर्दा ४ सय ९२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले हिजबुल्लाहका एक हजार तीन सय आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ । यो आक्रमण गत अक्टुबर सातमा हमासविरुद्ध युद्ध शुरु गरेयताकै भयानक भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा एक हजार ६ सय ४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।
इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरुबीच आक्रमण शुरु भएपछि विश्वका केही देशहरुले दुबै पक्षलाई संयमित हुन आह्वान गरेका छन् । यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त हुँदै आएको छ । इरानले इजरायलको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।