काठमाडौं। काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैँ घरमा बिहीबार बिहान ९ः१६ बजेको शुभ साइतमा विधिवत रुपमा जमरा राखिएको छ । बिहीबारदेखि नवरात्र शुरु भएको छ।
नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ। सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आज शुभसाइतमै जमरा राखिएको हो । जमरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए । साथै बन्दुक पड्काएर हर्ष बढाइँ पनि गरिएको छ ।
नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।