काठमाडाैं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमती जुटन सकेन ।
सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो ।
तर धेरै ठाउँमा सहमति नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन भोली (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको काँग्रेस नेता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।
उहाँले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरुबीच व्यापक छलफल भएको र भोली त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताउनुभयो । भोली चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने सञ्चारमन्त्री कार्कीको भनाइ छ ।