शोषणमुक्त र समानतामूलक समाज समाजवादमा मात्रै सम्भव छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले श्रमिक वर्गको हित समाजवादमै सम्भव हुने बताएका छन् । शनिबार काठमाडौंको बालाजुमा नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनद्वारा आयोजित उपत्यका स्तरीय भेला तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै उनले हालको पुँजीवाद व्यवस्थाले श्रमिक वर्गमाथि थप शोषण र उत्पीडन बढाएको आरोप लगाए ।

“आजको नेपाली समाजमा सबैभन्दा बढी शोषण, अन्याय र अत्याचारको शिकार श्रमिक वर्ग नै बनेका छन्,” खनालले भने, “लोकतन्त्र आएको छ तर श्रमिकमाथिको उत्पीडन झन् बढेको छ । त्यसैले यो व्यवस्थालाई समाजवादमा रूपान्तरण गर्न श्रमिक वर्गले अग्रणी भूमिका खेल्नुपर्छ ।”

उनले समाजवादी व्यवस्थामात्रै श्रमिक वर्गको स्थायी मुक्ति र अधिकार सुनिश्चित गर्ने आधार भएको जिकिर गर्दै मजदुर आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । “समाजवादको बाटोमा श्रमिक वर्गकै संघर्ष निर्णायक हुन्छ,” उनले भने, “श्रमजीवी वर्गकै बलमा मात्र शोषणमुक्त, न्याययुक्त र समानताको समाज निर्माण गर्न सकिन्छ ।”
कार्यक्रममा स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका महासचिव यमचन्द्र कटवालले सडक व्यापार गर्ने श्रमिकहरु असुरक्षित र असंगठित अवस्थामा रहेकाले उनीहरुको अधिकार सुनिश्चित गर्न मजदुर आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने बताए । उनले सडकमा पसल, ठेला र साना व्यवसाय गर्ने श्रमिकलाई स्थानीय सरकारदेखि राज्यको नीति–नियमले संरक्षण दिनुपर्नेमा जोड दिए ।

यस अवसरमा मजदुर नेताहरुले वर्तमान श्रमिक आन्दोलनलाई वर्गीय प्रश्नसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका थिए । उनीहरुले श्रमिक वर्गको मात्र होइन, सिंगो समाजको मुक्ति समाजवादी व्यवस्थामार्फत सम्भव हुने भन्दै एकता र संघर्षलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघका उपाध्यक्ष तथा मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष कुमार सापकोटा, एकीकृत ट्रेड युनियन महासंघका सचिव रवि केसी, मजदुर जिल्ला कमिटी सदस्य गीता फुयाल र निर्मला अधिकारी, स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका महासचिव यमचन्द्र कट्वाललगायतको उपस्थिति थियो । कार्यक्रममा सापकोटा, केसीलगायतका श्रमिक नेताहरुलाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *