मेची राजमार्ग अवरुद्ध, वैकल्पिक सडक पनि ठप्प : दस दिनदेखि इलाम–झापा सम्पर्क विच्छेद

इलाम । बाढी र पहिरोले अवरुद्ध मेची राजमार्गको विकल्पका रूपमा तयारी गरिएको तिल्केनी–सिमलगोलाइ सडक अझै सञ्चालनमा आउन सकेको छैन । इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहे पनि दस दिन बित्दासम्म पनि आवागमन सामान्य बन्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन इलामले अस्थायी डाइभर्सनमार्फत साना सवारी सञ्चालन गर्ने तयारी गरिरहेका छन् । तर, माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा उच्च पानीबहाव र ह्युमपाइपको अभावका कारण काममा ढिलाइ भइरहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताए ।

‘राजदुवालीतर्फ प्रयास गर्‍यौं, सफल नभएपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माण गर्दैछौं,’ उनले भने, ‘तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिलाइ हुनेछ ।’ पाँचथरबाट ह्युमपाइप मगाइएकाले मंगलबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ । हाल डाइभर्सन निर्माणमा चारवटा स्काभेटर परिचालन गरिएको छ ।

गत असोज १८ गतेको बाढीले मेची राजमार्गअन्तर्गतको बेलीब्रिज बगाएपछि इलाम र झापा सडक सञ्जाल विच्छेद भएको हो । गत असारमा मात्रै निर्माण सम्पन्न गरिएको उक्त पुल बाढीले बगाएपछि सम्पूर्ण आवागमन अवरुद्ध बनेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार आइतबार स्थलगत निरीक्षणपछि तिल्केनी–सिमलगोलाइ सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
‘सकेसम्म छिट्टै सडक खुलाउने पहल भइरहेको छ,’ उनले भनिन्, ‘सडक डिभिजनले प्राविधिक पक्ष सम्हाल्दैछ, हामी समन्वयमा छौं ।’

हाल तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्ग हुँदै साना सवारी सञ्चालनमा रहेका छन् । तर ठूला र मालवाहक सवारीका लागि उपयुक्त वैकल्पिक बाटो अहिलेसम्म पहिचान गर्न सकिएको छैन । मोड बढी र सडक साँघुरो भएकाले ठूला गाडी सञ्चालन गर्न कठिन भएको नेपालले बताइन् ।

लगातारको वर्षा र पहिरोका कारण इलाम–राजदुवाली सडकखण्ड बन्द भएपछि इलाम, झापा, पाँचथर र ताप्लेजुङका यात्रुहरू यातायात सञ्जालविहीन बनेका छन् । जटिल भूसंरचना र उच्च जोखिमयुक्त भूभागका कारण तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने भट्टराईले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *