कालीकोट। प्रविधिको युगमा संसार ५जी नेटवर्कसम्म पुगेको छ, तर कालीकोटका धेरै बासिन्दा अझै पनि आफ्ना प्रियजनसँग कुरा गर्न घरको छानामाथि चढ्न बाध्य छन् । जिल्लाका ग्रामीण बस्तीहरूमा मोबाइल सिग्नल नपुग्दा नागरिक ‘सञ्चारविहीन’ जीवन बाँचिरहेका छन् ।
खाँडाचक्र नगरपालिका–८ को सेराबाडा बजारदेखि तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकासम्मका बासिन्दा अझै पनि मोबाइल सिग्नल पाउन घरको छानामाथि वा अग्लो पाखातिर पुग्नुपर्ने बाध्यतामा छन् । कतिपय स्थानमा त घरको छानामाथि स्थायी रूपमा मोबाइल राखिएको छ, ताकि सिग्नल आइरहोस् र आफन्तसँग सम्पर्क टुट्न नदिन सकोस् ।
सेराबाडा बजारस्थित मल्ल होटेलका सञ्चालक खगेन्द्र मल्लका अनुसार २०६४ सालमा कालीकोटमा मोबाइल सेवा सुरु भएदेखि नै उनीहरू यसरी छानामाथि फोन राखेर कुरा गर्दै आएका छन् । “सुर्खेतका छोराछोरीसँग कुरा गर्न बिहानैदेखि मोबाइल ठाडो राख्नुपर्छ,” मल्लले भने, “कहिलेकाहीँ सन्देश पठाउन मात्रै पनि घण्टौं प्रतीक्षा गर्नुपर्छ ।”
स्थानीयहरूले पटक–पटक मोबाइल टावर निर्माणका लागि माग गरे पनि सम्बद्ध निकायले बेवास्ता गरेको उनीहरूको गुनासो छ । कर्णाली प्रदेश सभा सदस्य दुर्गबहादुर रावतका अनुसार २०७६ सालतिर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पालामा कालीकोटमा छ ठाउँमा टावर निर्माण गर्ने योजना बनेको थियो । तर मन्त्रीको राजीनामापछि त्यो योजना अधुरो रह्यो ।
हाल दुई ठाउँमा टावर बने पनि सिग्नल पर्याप्त नभएको, नाग्म क्षेत्रमा जुम्ला जिल्लाको टावरले मात्र आंशिक रूपमा सेवा दिइरहेको र फोइमहादेवको टावरले तिलानदी किनारमा काम नगरेको कारण त्यहाँका नागरिक अझै पनि सञ्चार सेवाबाट वञ्चित रहेको रावतले बताए ।
स्थानीयवासीहरू भन्छन् — “टावर नबनेसम्म हामी छानामाथि मोबाइल राख्दै सन्देश पर्खिन बाध्य छौं ।”