बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रम: पूजा, प्रदर्शनी र शान्तिको सन्देश दिईने

काठमाडौं । गौतम बुद्ध को २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन (त्रिपिटक) पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ।

गुठीका प्रबन्धक मिथुन चाङ्बा भोटेका अनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामनासहित पूजा–आराधना सुरु हुनेछ। पूजा सम्पन्न भएपछि बिहान ९ बजेदेखि ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्त्विक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनमा राखिनेछ।

उक्त अवसरमा ८४ लाख देवी–देवताले समुद्घाटन गरेको मानिने काश्यप बुद्धको अस्तु तथा स्वयम्भूनाथ स्तूप सँग सम्बन्धित धार्मिक सामग्रीसमेत गुम्बामा सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिनेछ।

दिउँसो १ बजेदेखि स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थितिमा औपचारिक कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा विभिन्न देश–विदेशका कूटनीतिक प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ। उद्घाटन शान्तिको प्रतीक परेवाको जोडी उडाएर तथा दीप प्रज्वलन गरी गरिनेछ। औपचारिक कार्यक्रम ११ः३० बजेसम्म सम्पन्न गरी सहभागीका लागि भोजन विश्रामको व्यवस्था गरिएको छ।

त्यसपछि दिउँसो २ बजेदेखि ऐतिहासिक गौतम बुद्धको मूर्तिलाई बौद्ध महास्तूप परिसरमा विभिन्न धर्मावलम्बी गुरुहरू, संघसंस्थाहरू तथा परमपूज्य औतारी धर्मगुरु चिनियाँ लामा भूपति बज्र लामाको अगुवाइमा परिक्रमा गरिने कार्यक्रम तय गरिएको छ।

यस कार्यक्रममार्फत धार्मिक आस्था अभिवृद्धि, सांस्कृतिक सम्पदाको संरक्षण तथा विश्व शान्तिको सन्देश फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2