नेपाल फेरि अर्को राजनीतिक मोडमा छ , जहाँ निर्वाचनको मिति तय भएको छ, तर जनताको मनमा अझै एउटै प्रश्न बाकी छ: के यसपटक केही फरक हुनेछ? दशकौँदेखि परिवर्तनका नाममा असंख्य आन्दोलन, विद्रोह र क्रान्ति पार गरेको यो देश फेरि पनि सुशासन र पारदर्शिताको खोजमा त्यहीँ ठाउँमा उभिएको छ।
इतिहासले देखाउँछ, हरेक राजनीतिक मोडमा जनताको अपेक्षा आकाश छुन्छ, तर परिणाम भने सधैँ जमिनमै अल्झिन्छ। राणाशाही अन्त्यदेखि गणतन्त्रको घोषणासम्म, हरेक परिवर्तनको केन्द्रमा जनताको सपना थियो—न्यायपूर्ण शासन, इमानदार प्रशासन र समान अवसरको समाज। तर शासनको स्वरूप बदलिँदा पनि शासनशैली भने बदलिन सकेन। भ्रष्टाचारको जरा अझ गहिरिँदै गयो, र राज्य प्रणाली जनताको पहुँचभन्दा टाढिँदै।
नवपुस्ता, जेनजीको विद्रोहले अहिले फेरि एउटा चेतावनी दिएको छ। उनीहरूको आक्रोश केवल सरकारमाथि होइन, समग्र राजनीतिक प्रवृत्तिमाथि हो। यही कारणले अन्तरिम सरकारले फागुन २१ को निर्वाचनलाई मात्र होइन, सुशासनलाई पनि मुख्य एजेन्डा बनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको त्रिपक्षीय संवाद सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीचको नेपालको राजनीतिक संस्कृतिमा नयाँ प्रयोगको संकेत हो। तर संवादले मात्र होइन, कार्यान्वयनले नै विश्वास निर्माण गर्छ।
हामीले विगतका सरकारहरूमा ‘संवाद’लाई सत्ताको नाटकको रूपमा पनि देख्यौं। शीर्ष नेताहरूको सीमित घेराभित्र निर्णय हुने, संस्थागत संयन्त्रहरू पन्छाइने र परिणाम जनताको जीवनमा नपुग्ने परम्परा यहीँबाट जन्मियो। यसपटक त्यसबाट बाहिर निस्कन सक्ने हिम्मत देखाउनुपर्छ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारका फाइल खोल्ने घोषणा गर्नुभएको छ। तर घोषणाले होइन, कार्यान्वयनले मात्र जनविश्वास फर्काउँछ। ठेक्का तोड्ने र बक्यौता उठाउने सरकारको कदम सही दिशामा छ, तर यो निरन्तरता र पारदर्शितासँगै अघि बढे मात्र यसको अर्थ रहन्छ। सुशासन भनेको केही फाइल खोलेर होइन, सिस्टमकै चरित्र बदल्नु हो। नागरिकलाई नागरिकता लिन, राहदानी बनाउन, सवारी अनुमति पाउन सजिलो बनाउनु हो। कर तिर्न चाहनेलाई सम्मान र सहजता दिनु हो।
नेपालले राजनीतिक परिवर्तन धेरै भोगिसक्यो अब चाहिएको छ संस्थागत इमानदारी। निर्वाचनले सरकार बनाउँछ, तर सुशासनले राष्ट्र निर्माण गर्छ।
फागुनको मतदान केवल राजनीतिक प्रतिस्पर्धा होइन, यो देशले कस्तो भविष्य रोज्छ भन्ने निर्णायक क्षण हो। यदि यो निर्वाचनले सुशासनको बाटो खोल्न सकेन भने, अर्को विद्रोह फेरि अपरिहार्य हुनेछ। जनताले परिवर्तनको नारा होइन, परिणाम खोजिरहेका छन्। यो सरकार, दल र जेनजी पुस्ता सबैले बुझ्नुपर्ने युगीन सन्देश हो।
