विदेशी हस्तक्षेपविरुद्ध जनएकतानै हतियार , हामी संग मिसाइल छैन, जनता छन् : प्रचण्ड

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप रोक्न बलिस्टिक मिसाइल जस्ता सैन्य शक्ति नभए पनि जनताको एकता, शक्ति र सङ्गठन नै सबैभन्दा बलियो हतियार भएको बताएका छन्।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले केही विदेशी शक्तिहरूले स्वाभाविक रूपमा चलखेल गर्ने गरेको उल्लेख गरे। “कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ, तर हामीसँग त्यसलाई बलिस्टिक मिसाइल प्रयोग गरेर रोक्ने तागत छैन,” उनले भने, “त्यसैले जनताको शक्ति, एकता र सङ्गठन नै हाम्रो मुख्य हतियार हो।”

प्रचण्डले पछिल्लो समय चर्चामा आएको युवाहरूको ‘जेनजी’ आन्दोलनलाई राजनीतिक दल र पुराना नेतृत्वका लागि गम्भीर चेतावनीका रूपमा लिँदै यसलाई सकारात्मक रूपमा ग्रहण गरिएको बताए। “जेनजी आन्दोलनले हामीलाई ‘सच्चिने कि सक्किने’ भन्ने सन्देश दिएको छ। मैले उनीहरूलाई धन्यवाद दिएको छु, किनकि यसले आत्मसमीक्षा गर्ने अवसर दिएको छ,” उनले भने।

सरकारले जेनजी युवामाथि गरेको दमनप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले युवाहरूका मागहरू आफ्नो पार्टीको नीतिसँग मेल खाने दाबी गरे। उनले भने, “आज हजारौँ जेनजी युवा हामीसँग जोडिएका छन्। उनीहरू भन्छन्, हाम्रो अभिभावक प्रचण्ड नै रहेछन्। यसले कतिपय शक्तिहरू आत्तिएका छन्, किनकि नेपाली कम्युनिस्टहरू एक ठाउँमा केन्द्रित हुँदैछन्।”

प्रचण्डले एकतामार्फत देशलाई समाजवादतर्फ अग्रसर गराउने प्रतिबद्धता पनि दोहोर्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *