काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै देशलाई समाजवादी रूपान्तरणतर्फ अघि बढाउन आह्वान गरेका छन्।
नयाँ वर्षको सन्देशमा उनले २०८२ साललाई “उथलपुथलपूर्ण वर्ष” का रूपमा उल्लेख गर्दै देश अहिले नयाँ चुनौती र सम्भावनाको संघारमा उभिएको बताएका छन्। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा नवजागरण, एकता, समृद्धि र सुस्वास्थ्यको कामना समेत व्यक्त गरेका छन्।
खनालले पछि प्राप्त उपलब्धिहरू—गणतन्त्र स्थापना, संविधान निर्माण तथा वामपन्थी सरकार गठन—उल्लेख गर्दै अपेक्षित परिवर्तन हुन नसकेको स्वीकार गरेका छन्। उनका अनुसार, पछिल्ला सरकारहरू रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र सुरक्षाजस्ता आधारभूत आवश्यकतामा प्रभावकारी हुन नसक्दा जनअसन्तोष बढेको छ।
बेरोजगारी, महँगी र भ्रष्टाचारका कारण युवाहरू विदेश पलायन हुन बाध्य भएको उल्लेख गर्दै उनले जनआक्रोशलाई देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले प्रयोग गर्न खोजेको आरोप समेत लगाए। पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र चुनावी परिणामले शक्ति सन्तुलनमा परिवर्तन आएको पनि उनको भनाइ छ।
नयाँ सरकारप्रति संकेत गर्दै खनालले जनताको समस्याहरू समाधान गर्ने स्पष्ट नीति नदेखिएको टिप्पणी गरेका छन्। उनले निर्वाचनलाई “कार्यनीतिक घटना” मात्र भएको बताउँदै समाजवादी क्रान्तिको दीर्घकालीन लक्ष्यबाट विचलित नहुन आग्रह गरे।
आफ्नो पार्टीको हारप्रति आत्मसमिक्षा आवश्यक रहेको भन्दै उनले वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्। देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूको व्यापक मोर्चा निर्माण गर्दै समाजवादको लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
“जनताको आधारभूत समस्या समाधान गर्ने एकमात्र बाटो समाजवादी रूपान्तरण नै हो,” उनले भने, “नयाँ वर्ष २०८३ ले हामीसँग यही ऐतिहासिक जिम्मेवारीको माग गरिरहेको छ।”


