काठमाडौं । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर काठमाडौंबाट पवित्र भूमि लुम्बिनीसम्म शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘शान्तिका लागि साइकल यात्रा’ आयोजना हुने भएको छ।
विश्वभर बढ्दो युद्ध, द्वन्द्व र अस्थिरताको पृष्ठभूमिमा शान्ति, करुणा र सहअस्तित्वको सन्देशलाई जनस्तरसम्म पुर्याउने लक्ष्यसहित यो अभियान अघि बढाइएको हो।
महासिद्ध युनिभर्सल पिस स्यान्क्चुअरीको आयोजनामा हुने यस यात्रामा १०८ जना प्रतिबद्ध साइकल यात्री सहभागी हुनेछन्। उनीहरूले स्वयम्भूबाट यात्रा सुरु गर्दै चार दिनको कठिन तर प्रेरणादायी मार्ग पार गरी बुद्धको जन्मभूमि लुम्बिनीमा पुगेर अभियान समापन गर्नेछन्।
वैशाख १५ गते सुरु हुने यो यात्रा पहिलो दिन हेटौंडा, दोस्रो दिन नारायणघाट हुँदै नवलपुरको रजहर, तेस्रो दिन कावासोती, दाउन्ने र बर्दघाट हुँदै भैरहवा पुग्नेछ भने चौथो दिन बिहान लुम्बिनीमा समापन गरिनेछ। आयोजकका अनुसार यो यात्रा केवल दूरी पार गर्ने अभ्यास मात्र नभई प्रत्येक पेडलसँगै शान्ति, चेतना र मानवताको सन्देश फैलाउने आध्यात्मिक अभियान हुनेछ।
आयोजकले यो साइकल यात्रालाई साधारण खेलकुद वा यात्राभन्दा माथि उठाउँदै मानवताको पक्षमा उठाइएको सामूहिक आवाजका रूपमा व्याख्या गरेका छन्। यात्रामा सहभागीहरू शारीरिक चुनौतीसँगै आन्तरिक रूपमा शान्ति र करुणाको अनुभूतिमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।
२५७०औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिनेछ, जहाँ मायादेवी मन्दिर दर्शन, बोधिवृक्षमुनि सामूहिक ध्यान, विश्व शान्तिका लागि प्रार्थना र युद्धका प्रतीक स्वरूप हजारौँ दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ। बुद्धको जन्मभूमिमा हुने यो आध्यात्मिक समागमलाई विश्व शान्तिको सन्देश फैलाउने महत्वपूर्ण क्षणका रूपमा लिइएको छ।
कार्यक्रममा पूजनीय श्याल्पा तेनजिन रिन्पोछे सहित विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ। रिन्पोछेले विगत चार दशकदेखि विश्वभर बौद्ध शिक्षाको प्रचार–प्रसार र शान्तिको सन्देश फैलाउँदै आउनुभएको छ।
यसै अवसरमा ‘पूर्ण मुक्तिको मार्ग’ नामक पुस्तकको विमोचन पनि गरिनेछ, जसले आन्तरिक शान्ति र आत्मबोधको यात्रामा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
साइकल यात्राको अवधिभर वातावरण संरक्षणको सन्देश पनि सँगसँगै फैलाइनेछ। ‘गोइङ ग्रिन’ अवधारणाअनुसार कार्बन उत्सर्जन घटाउने र वातावरणमैत्री जीवनशैलीप्रति जनचेतना बढाउने लक्ष्य आयोजकले लिएका छन्।
देश–विदेशबाट सयौँ साइकल यात्री, श्रद्धालु र शान्तिप्रेमी नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको यस अभियानले नेपाललाई पुनः विश्व शान्तिको प्रतीक भूमिको रूपमा स्थापित गर्न योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
विश्वभर द्वन्द्व र अशान्तिको छायाँ बढ्दै गएको समयमा बुद्धको करुणा र शान्तिको शिक्षालाई व्यवहारमा उतार्ने प्रयासस्वरूप सुरु हुन लागेको यो यात्रा नेपालबाट विश्वलाई शान्तिको सशक्त सन्देश दिने ऐतिहासिक अभियानका रूपमा हेरिएको छ।
