काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसीबारे अमेरिका र चीनले एकसाथ प्रतिक्रिया जनाएको छ । विवादित परियोजना एमसीसीको विरोधमा सडक प्रदर्शन भइरहँदा अमेरिका र चीनले एकसाथ प्रतिक्रिया जनाएको हो ।
एमसीसी अनुमोदनका लागि दबाव दिदै आएको अमेरिकाले प्रतिक्रिया जनाए लगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बक्तव्य जारी गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले ट्वीट गर्दै एमसीसीलाई लिएर हिंसा या हिंसा भड्काउने किमिसका विचारहरु अस्वीकार्य हुने उल्लेख गरेका थिए ।
लगत्तै, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले बलजफ्ती कुटनीतिको विरोध जनाएको छ । एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेपका रुपमा बुझ्ने अमेरिकी विदेश सहायक मन्त्रीले चेतावनी दिएका थिए । गएको २७ माघमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी एमसीसी अनुमोदन नभए चीनको दबावका रुपमा बुझ्ने बताएका थिए ।
चीनले त्यही दबाव उल्लेख गर्दै बलजफ्ती कुटनीतिको विरोध गर्ने बताएको छ । “अन्तर्राष्ट्रिय समुदायको नेपालसँग सहकार्य, नेपालको अर्थतन्त्रको विकास र जीविकामा सुधारका लागि गर्ने सहयोगको चीन स्वागत गर्छ । तर यो नेपाली जनताको चाहना र राजनीतिक शर्त बिना हुनुपर्छ” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले भनेका छन् ।
नेपाली जनताको विकासपथ छनोट गर्न सहयोग जारी राख्ने र आफ्नो हित अनुकुल निर्णय लिने र जनताको इच्छा प्रदर्शित हुनुलाई समर्थन गर्ने चीनको भनाइ छ । “नेपालको असल छिमेकी र विकास साझेदार चीनले नेपाली जनतालाई आफ्नो विकासपथ छनोट गर्न सहयोग जारी राख्छ र आफ्नो देशको हित अनुकूल निर्णय लिने र जनताको इच्छा प्रदर्शित हुनुलाई समर्थन छ”, चीनले एमसीसीबारे भनेको छ ।
अमेरिकी राजदूतको प्रतिक्रिया लगत्तै चीनले विरोध जनाएको थियो । “हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो ।… तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरु स्वीकार्य हुँदैन”, अमेरिकी राजदूतले लेखेका थिए ।