असार १५ र किसान दिवश: धान संस्कृतिको गाँथा

– प्रमेश पोखरेल
असार १५ लाई हामी राष्ट्रिय धान दिवस भन्छौँ, दही–चिउरा खाने दिन भन्छौँ, राष्ट्रिय किसान दिवश पनि भन्दछौं । तर यसको महिमा यतिमै मात्र सीमित छैन । यो त हाम्रो संस्कृति र सामाजिक व्यवस्थाको जीवित इतिहास हो । यो नेपाली समाजको श्रम, प्रकृति र खाद्य संस्कृतिको उत्सव पनि हो । किसानको भविष्यको आशा र परम्परा जोगाउने संकल्पको दिन हो । आजभोलि असार १५ मा फेसबुक र टिकटकमा हिलो खेलेका तस्बिर, दही–चिउरा खाएका भिडियो र औपचारिक शुभकामनामा प्रशस्तै देखिन्छ । तर गाउँको माटोमा हुर्किएका पुस्ताका लागि असार १५ कुनै देखाउने ’कार्यक्रम’ थिएन । अझैपनि किसानका लागि यो औपचारिक दिन मात्र होइन । यो त वर्षभरिको गाँस, परिवारको भविष्य र गाउँको सामूहिक जीवन चलाउने आधार थियो । बिहानैदेखि खेतमा गुन्जिने रोपाहार र बाउसेका असारे भाका, हलो जोत्ने हलिको ह ह माले हह काले आवाज, आलीको डिलमा बसेर खाएको दही–चिउरा, अनि हिलोले लतपतिएका अनुहारमा देखिने त्यो वास्तविक खुसी ग्रामीण क्षेत्रका आम जनसमुदायको जिउने शैली थियो । गाउँमा असार लाग्दै देखि खेतका आली थुनिन्थे, कुलो सफा गरिन्थ्यो, व्याडमा धानको बीउ तयार भइसकेका हुन्थे । हलो, जुवा, फाली र गोरुहरू तयार पारिन्थे । आकासबाट पहिलो ठूलो झरी परेपछि माटो भिज्थ्यो र किसानको मनमा आशा पलाउँथ्यो । धान रोप्नु केवल खेतीपाती मात्र थिएन, प्रकृतिको नियमसँग मानिसले आफूलाई ढाल्ने एउटा सामाजिक अभ्यास थियो ।
धानको इतिहास र सामाजिक शक्ति
धानको इतिहास मानव सभ्यताको सुरुवातसँगै जोडिएको छ । एशियाका ठूला सभ्यताहरू नदी किनारमा धान खेतीको विकाससँगै अगाडि बढेका हुन् । नेपालमा पनि धानले केवल पेट मात्र भरेको छैन, यसले हाम्रा सामाजिक सम्बन्ध र संस्कृतिलाई जोडेकोे छ । जन्मदेखि मृत्युसम्म, पूजाआजादेखि चाडबाडसम्म धानचामल अनिवार्य छ । अक्षता, जमरा, सेलरोटी, खीर वा दही–चिउरा हाम्रो जीवनको हरेक मोडमा जोडिएर आउँछ । त्यसैले धान केवल अन्न होइन, यो हाम्रो पहिचान र संस्कृति पनि हो । मानवशास्त्रीय रूपमा हेर्दा धान खेतीले समाजलाई जोड्ने काम गरेको छ । रोपाइँ एक्लै गर्न सकिँदैन । गाउँमा परापूर्वकालदेखि चल्दै आएको ’अर्म–पर्म’ जस्ता चलनले सामूहिक श्रमलाई बचाएको थियो । आज मेरो खेत, भोलि छिमेकीको खेत रोप्ने । त्यहाँ श्रमको किनबेच हुँदैनथ्यो, बरु आत्मीयताको साटासाट हुन्थ्यो । यसले धान मात्र फलाउँदैनथ्यो, छिमेकीहरूबीचको सम्बन्धलाई पनि बलियो बनाउँथ्यो । खेतमा रोपाइँ गर्दा गाइने असारे गीतमा केवल रमाइलो हुँदैनथ्यो; त्यसमा किसानका दुःख, पीडा, सामाजिक व्यङ्ग्य र प्रकृतिप्रतिको सम्मान लुकेको हुन्थ्यो । किसानले धान रोप्दा एउटा गहिरो विश्वास बोकेको हुन्छ । जेठमा राखेको सानो बीउले केही महिनापछि सयौँ दाना दिन्छ । यसले मानिसलाई धैर्यता र प्रकृतिसँग मिलेर बस्न सिकाउँछ । न्वागीले धान नफलाउनेलाई पनि चामल चखाउँछ । त्यसैले नेपाली समाजमा धानलाई समृद्धि र जीवनको प्रतीक मानिन्छ । नयाँ धान घर भित्र्याउँदा कुलदेवतालाई चढाउने र नयाँ चामलको खीर खाने परम्पराले धानलाई आर्थिक वस्तु मात्र होइन, एउटा सांस्कृतिक सम्पदा बनाएको छ ।

संकटमा धान खेती र जलवायु संकट
आज असार १५ को कुरा गरिरहँदा हामी एउटा गम्भीर संकटको मोडमा छौँ । शहरका खेतीयोग्य जमिनहरू प्लटिङ गरेर कंक्रिटका घडेरी बनिरहेका छन् । गाउँका युवाहरू श्रमका लागि विदेशिन बाध्य छन् र खेतहरू बाँझिँदै गएका छन् । रैथाने धानका जातहरू तीव्र रूपमा हराउँदै छन् । बजारमा हाइब्रिडको मार छ । अर्कोतिर, जलवायु परिवर्तनको मार सिधै किसानको खेतमा परेको छ । कुनै बेला असार १५ सम्म खेतमा पानी टनाटन हुन्थ्यो । आज मौसमको चक्र बिग्रिएको छ । मनसुन ढिलो सुरु हुन्छ, कहिले असारमा खडेरी पर्छ त कहिले कात्तिकमा पाकेको धान बाढीले बगाउँछ । पुस्तौंदेखि आकास हेरेर मौसम बुझ्ने किसानको रैथाने अनुभव आज अलमल्लमा परेको छ । त्यसैले त मध्य असारमा मलको अभाव र खडेरीका कारण अझै १५ % रोपाइ भएको छैन । हाम्रा कृषि वैज्ञानिकहरू र नेपाल कृषि अनुसन्धान परिषद् (ल्ब्च्ऋ) जस्ता संस्थाहरूले उन्नत जातका धान विकास त गरिरहेका छन्, तर प्रयोगशालाको ज्ञान र किसानको वास्तविक अनुभवबीच ठूलो खाडल छ । जबसम्म वैज्ञानिकहरू किसानको खेतमा पुगेर उनीहरूको दुःख र ज्ञानलाई बुझ्दैनन्, तबसम्म कागजमा गरिने अनुसन्धानले मात्रै देशको भोकमरी मेटिन सक्दैन ।
पर्यावरणीय कृषि (Agroecology)
पुर्खाको ज्ञान, भोलिको बाटो र धानको यो संकट केवल निराशाको कथा मात्र होइन, यो हाम्रो परम्परागत ज्ञानतिर फर्कने अवसर पनि हो । पछिल्लो समय विश्वभर र नेपालमा पनि पर्यावरणीय कृषिको बहस सुरु भएको छ । पर्यावरणीय कृषिले किसानलाई केवल बढी उत्पादन गरेर बजारमा बेच्ने व्यापारीका रूपमा हेर्दैन । यसले किसानलाई प्रकृति, माटो र जैविक विविधताको सच्चा रक्षक मान्दछ । वास्तवमा, हाम्रा पुर्खाहरूले शताब्दीयौंदेखि गर्दै आएका खेतीका अभ्यासहरू नै रैथाने पर्यावरणीय कृषि हुन् ।
• रसायनको सट्टा जैविक मल, गोठको मल र कम्पोष्ट प्रयोग गर्ने ।
• धानखेतभित्रै हाँस वा माछा पाल्ने, जसले कीरा खान्छन् र माटोलाई मलिलो बनाउँछन् ।
• धानको आलीमा भटमास वा गेडागुडी लगाएर माटोको उर्वराशक्ति जोगाउने ।
• पानीको बाँडफाँटका लागि सामूहिक कुलो प्रणाली चलाउने ।
• चक्लाबन्दी धान खेति गर्ने
आज हामी नयाँ आधुनिक नामहरू सिकिरहेका छौँ, तर यो ज्ञान हाम्रो वर्षौँदेखि व्यवहारमा रहेका त्रान विर्षेका छौं । नेपालका जुम्ली मार्सी, अनदी, बासमती, चम्पा जस्ता सयौँ रैथाने धानका जातहरू हाम्रो भूगोल र स्वादका इतिहास हुन् । एउटा रैथाने बीउ हराउनु भनेको एउटा जात मात्र नाश हुनु होइन, हाम्रो एउटा सांस्कृतिक पहिचान र आत्मनिर्भरताको आधार ढल्नु हो । दही–चिउरा र असारे गीतको यथार्थ हामीले असारमा दही–चिउरा खानुको पछाडि पनि बलियो कारण छ । असारको हिलो र पानीमा गरिने कडा मिहिनेतपछि शरीरलाई ऊर्जा र शीतलता चाहिन्छ । दहीले पेटलाई शितल बनाउँछ र रोगसँग लड्ने शक्ति दिन्छ, चिउराले तत्काल तागत दिन्छ । अझ खेतको आलीमा बसेर एउटै भाँडोबाट दही–चिउरा बाँडेर खाँने, जातभात, धनीगरिब सँगसँगै हिलोमा खेल्ने हाम्रो समाजको एउटा सुन्दर मूल्य हो । त्यस्तै, असारे गीतहरू हाम्रा मौखिक इतिहास हुन् । जब रोपाहारहरू हिलोमा निहुरिएर एउटै तालमा विउ रोप्छन् गीतले उनीहरूको श्रमको थकाइ मेट्छ । आज आधुनिक ट्याक्टर र मेसिनहरू आएका छन्, जसले काम छिटो त बनाउलान्, तर त्यो सामूहिक हाँसो, त्यो गाउँले आत्मीयता र गीतको लयलाई बचाउन सक्दैन । प्रविधि अपनाउँदै गर्दा हाम्रो मानवीय सम्बन्ध र संस्कृति नमरोस् भन्नेमा सजग हुनुपर्छ ।

निष्कर्ष
असार १५ ले हामीलाई एउटा दार्शनिक सन्देश दिन्छ —किसान बचे मात्र देश बच्छ । किसानले माटोमा धानको बीउ रोप्दा आजको भोलि नै फल खोज्दैन । उसले महिनौँपछिको भविष्यमाथि विश्वास गरेर आफ्नो पसिना र आशा माटोमा गाड्छ । धान खेती वास्तवमा भोलिको दिनप्रतिको एउटा गहिरो भरोसा हो । आज देशको कृषि नीति केवल उत्पादनको आँकडा, आयातको ग्राफ र बजारको नाफा–घाटामा मात्र सीमित छ । धानलाई केवल बजारको सामान मात्र बनाइयो भने हामीले यसको सामाजिक र पर्यावरणीय महत्त्व गुमाउनेछौँ । अझ भानलाई खाद्यान्न भन्दा पनि बृहत रुपमा बुझ्नुपर्छ । खेत केवल चामल उत्पादन गर्ने स्थान होइन, यो त हाम्रो रैथाने ज्ञान सिक्ने थलो र समाज जोडिने सार्वजनिक चौतारी हो । त्यसैले, असार १५ लाई केवल वर्षमा एक दिन हिलोमा उत्रिएर सेल्फी खिच्ने फेसन मात्र बनाउनु हुँदैन । यसको पर्यटकीय र मनोरन्जनात्मक पक्ष पनि ठिक छ तर यो औपचारिकतामा सिमीत हुनु हुदैन । यदि हामी आफ्नो खाद्य सुरक्षा र आत्मनिर्भरता चाहन्छौँ भने यसलाई खाद्य सम्प्रभुता, किसानको अधिकार, रैथाने बीउको संरक्षण र पर्यावरणीय कृषिको अभियानसँग जोड्नै पर्छ । विडम्बना के छ भने जसले देशलाई अन्न दिन्छ, उसैले आफ्नो श्रमको उचित मूल्य पाउँदैन । समयमा मल पाइँदैन, सिँचाइको व्यवस्था हुँदैन र पाकेको धानले बजार पाउँदैन । खासमा धान किसानले आफ्नो लागत नै उठाउन कठिन छ । असार १५ मा किसानसँग तस्बिर खिच्ने समाजले वर्षभरि किसानको हक–अधिकारका लागि पनि उत्तिकै सोच्नुपर्छ । किसान बचे मात्र हाम्रो भान्छा जोगिन्छ । धान हाम्रो इतिहास, संस्कृति र पहिचान हो । असार १५ का अवसरमा माटोसँग जीवन जोड्ने, धर्तीलाई अन्न दिने तमाम किसान, महिला, रोपाहार, हली र कृषि मजदुरहरूप्रति हार्दिक सम्मान । हाम्रो माटो, रैथाने बीउ र किसानको आत्मसम्मान सधैँ जोगिइरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2