काँग्रेस पुस्तान्तरणमा डिल्लीराम : न पुराना विस्थापित, न नयाँ निषेध

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’का रूपमा अघि सार्दै सहमहामन्त्री खुलातर्फ उमेदवारी दर्ता गराएका छन् ।

सुवेदीका अनुसार कांग्रेस अहिले पुस्तान्तरणको चरणमा छ। नयाँ पुस्ताले नेतृत्वमा हस्तक्षेप बढाइरहेको र पुरानो पुस्तासँग लामो राजनीतिक अनुभव रहेको अवस्थामा यी दुईबीच द्वन्द्व होइन, अनुभव र ऊर्जाको संयोजन आवश्यक छ। यही मान्यताका आधारमा आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिएको उनको भनाइ छ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका सुवेदीको राजनीतिक यात्रा लामो छ। उनी नेविसंघबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। काठमाडौं शिक्षा क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको केन्द्रीय उपाध्यक्षसम्म पुगेका उनी त्यसपछि पार्टीको मूल राजनीतिमा आएका हुन्। २०७३ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक बनेका सुवेदी त्यसयता कांग्रेसको संगठन र वैचारिक राजनीतिमा सक्रिय छन्।

२०७९ को प्रदेशसभा निर्वाचनमा बागलुङ–१(२) बाट निर्वाचित भएपछि उनी गण्डकी प्रदेशसभामा पुगेका हुन्।

सुवेदीको राजनीतिक परिचय भने निर्वाचन र संगठनमा मात्रै सीमित छैन। उनी कांग्रेसभित्र अध्ययन, लेखन र वैचारिक बहसमा रुचि राख्ने नेताका रूपमा पनि चिनिन्छन्। कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणसँग सम्बन्धित सामग्रीको लेखन तथा सम्पादनमा उनको संलग्नता रहँदै आएको छ।
सभापित गगन थापासँगकाे सहलेखनमा नेपाली कांग्रेस र संविधानसभा उनको वैचारिक–लेखन यात्रासँग जोडिएको पुस्तक हो।

कांग्रेसको इतिहास र दस्तावेजलाई नयाँ पुस्तासम्म पुर्‍याउने काममा समेत उनी संलग्न रहँदै आएका छन्। गगन थापाले समेत नेपाली कांग्रेसका ऐतिहासिक दस्तावेज संकलन तथा सम्पादनमा डिल्लीराम सुवेदीलगायतको भूमिकाको उल्लेख गरेका छन्।

सुवेदी विचार र संगठनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने मान्यता राख्छन्। विद्यार्थी राजनीतिमै रहँदा उनले शैक्षिक तथा वैचारिक बहसलाई प्राथमिकता दिएका थिए। कांग्रेसको वैचारिक धरातल र समसामयिक राजनीतिक प्रश्नमा बहस गर्ने उद्देश्यले ‘विचार विशेष’ जस्ता प्रकाशनसँग उनको संलग्नता रहँदै आएको छ।

राजनीतिक यात्राको सुरुवाती चरणमै उनले कांग्रेसमा युवाको निर्णायक भूमिका हुनुपर्ने धारणा राख्दै आएका थिए। २०७२ सालको १३औँ महाधिवेशनको पूर्वसन्ध्यामा उनले युवालाई नेतृत्वमा पर्याप्त स्थान दिनुपर्ने बताएका थिए।

सुवेदीको उम्मेदवारी घोषणासँगै कांग्रेसको सहमहामन्त्री पदमा युवा पुस्ताका नेताहरूको दाबी पनि थपिएको छ। बागलुङबाट उनी यसपटक तेस्रोपटक महाधिवेशन प्रतिनिधि बनेका छन्।

प्रदेशसभामा रहँदा पनि सुवेदीले नीति र कार्यक्रमका विषयमा पार्टीभित्र बहस गर्दै आएका छन्। गण्डकीको बजेटमा टुक्रे आयोजना र पहुँचका आधारमा योजना छनोट हुने प्रवृत्तिमाथि उनले प्रश्न उठाउँदै आएका छन्।

कांग्रेसको नयाँ नेतृत्वसँगै पार्टीको वैचारिक पुनर्निर्माण, पुस्तान्तरण र संगठनको पुनर्संरचनाको बहस चलिरहेका बेला सुवेदीको उम्मेदवारीलाई पनि यही पृष्ठभूमिमा हेरिएको छ। उनी भने आफ्नो दाबीलाई केवल पुस्ताको प्रतिनिधित्वमा सीमित गर्नुभन्दा कांग्रेसको विचार, संगठन र नेतृत्वबीच समन्वय कायम गर्ने भूमिकासँग जोडिरहेका छन्।

‘नयाँ’ र ‘पुरानो’ भनेर कांग्रेसभित्र पुस्तागत विभाजन सिर्जना गर्नेभन्दा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एक ठाउँमा ल्याएर पार्टीलाई अघि बढाउनुपर्ने उनको धारणा छ। यही आधारमा आफू सहमहामन्त्रीका लागि प्रस्तुत भएको सुवेदीको भनाइ छ।

को हुन् सुवेदी ?
नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका डिल्लीराम सुवेदी २०५३ मा जनता मावि नारायणस्थानको नेविसंघ इकाई अध्यक्ष, २०६० मा काठमाडौ शिक्षा क्याम्पसको इकाई अध्यक्ष र २०६२ मा स्ववियु सभापति बनिसकेका छन । २०५९ पछी प्रतिगमन विरुद्धको आन्दोलनमा काठमाडौका सडकमा निकै सक्रिय देखिएका थिए । २०६२/६३ को जनआन्दोलन उत्कर्ष पुग्ने बेला २०६२ मा स्ववियु सभापतिको भुमिकामा रहेका उनी पार्टीका विभिन्न आन्दोलन र अभियानमा सक्रिय हुँदै गर्दा नेविसंघको केन्द्रिय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजकको जिम्मेवारी निभाएका छ्न ।

डिल्लीराम राजनैतिक र शैक्षिक आन्दोलनमा निरन्तर अग्रपंक्तिमा सक्रिय देखिनुका साथै २०७२ र २०७८ मा पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्वाचित भै सकेका छन।

राजनीतिक नेतृत्वका अलवा कुशल राजनीतिक प्रशिक्षक, सामाजिक अभियान्ता तथा विभिन्न पुस्तक तथा पत्रीकाको लेखन तथा सम्पादनको काम समेत गरेका छन ।नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको नेतृत्व र स्व नेता समाजवादी चिन्तक प्रदिप गिरी, नरहरी आचार्यको सल्लाहमा निस्केको जर्नल “विचार विशेष को सम्पादक समेत रहि सकेका छन् ।

२०७२ सालको भुकम्प पश्चात्, क्षतीग्रस्त विद्यालयहरुको पुनर्निर्माण गर्न सहयोगि संस्था संग हातेमालो गर्दै” मिलेर बनाऔं विद्यालय अभियान मार्फत २०० भन्दा बढी बिधालयमा स्थायी / अस्थायी सरंचना निर्माणको संयोजन गरेका छन । डिल्लीराम तराई क्षेत्रमा बाढीको बेला मायाले भरिएको बाल्टीन बोकेर दर्जनौ बस्तीहरुमा पुगेका थिए। कोभिड महामारीको बेला बागलुङ्का विभिन्न स्वास्थ्य चौकि एवम सस्थाहरुमा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्रीहरु लिएर पुगेका थिए ।

५०० भन्दा बढी शिक्षा क्षेत्रमा काम गर्ने संस्थाहरुको नेतृत्व लिँदै शिक्षाका लागी राष्ट्रिय अभियान नेपालमा अध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनी भौतिक बिकास सगै मानविय बिकास को मुद्धालाइ प्राथमिकतामा राख्छ्न् ।

देशका ७० भन्दा धेरै जिल्लाहरुमा राजनीतिक अभियानमा पुगेका उनी, विभिन्न सभा समारोहमा प्रस्तुती गर्न वा सहभागी हुन अमेरिका, बेलायत, युरोप, भारत, चीन लगायतका देशमा पुगेका छन। अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर उनी वैचारिक राजनीति को माध्यामबाट सकारात्मक परिवर्तन ल्याउन सकिने हुटहुटी बोकेर हिँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2