पुरिन थाल्यो मुस्ताङको नुन खानी

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, तेताङकी कुनसाङ गुरुङ गाउँबाट डेढ घण्टाको दुरीमा रहेको नर्साङखोलाको किनारस्थित नुन खानीबाट हिउँदको समयमा नुन ल्याएर प्रयोग गर्नुहुन्छ ।

फागुन, चैत, वैशाख, जेठ महिनामा कुनसाङ जस्तै स्थानीय पोखरीमै पुगेर नुन जम्मा पार्ने गरिन्छ । करिब ३३ घरधुरी रहेको तेताङ गाउँका बासिन्दाले बर्खाको समयमा बगेर जाने नुनलाई सुक्खायाममा सङ्कलन गरेर उपभोग गर्नुका साथै पशुचौपायालाई खुवाउने गरेको कुनसाङले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको नुन हामीले घरायसी प्रयोजनका लागि मात्रै प्रयोग गर्ने गरेका छौँ ।” करिब तीन दशकदेखि सरकारी निकायलाई नुन खानीको सदुपयोग गर्न पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभएको स्थानीय महिला अगुवासमेत रहनुभएकी कुनसाङले बताउनुभयो ।

तेताङ र छुसाङगाउँका बासिन्दाले पोखरी बनाएर नुन सङ्कलन गर्ने गरे पनि दीर्घकालीन संरक्षणका लागि गाउँपालिकाले समेत कुनै योजना बनाएको छैन । गाउँपालिका प्रवक्ता प्रमेश गुरुङ भन्नुहुन्छ, “हामीसँग धेरै बजेट नभएकाले खानीलाई उपभोग गर्न सकिएको छैन ।” बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले खानी तथा भूगर्भ विभाग, गण्डकी प्रदेश र सङ्घीय सरकारलाई समेत नुन खानी उत्खनन अभियानलाई प्राथमिकता दिन अनुरोध गरे पनि लगानीकर्ता आकर्षित नभएको जवाफ पाएको प्रवक्ता गुरुङको भनाइ छ । उहाँका अनुसार रासायनिक परीक्षणले करिब ७१ प्रतिशतदेखि ९४ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको देखाएको थियो । जसलाई गुणस्तरीय नुन मान्न सकिने प्राविधिक पक्षको भनाइ छ । गाउँपालिकाले नुन खानीबाट निस्कने पानी सङ्कलन गर्न पोखरी बनाए पनि बगाएको उहाँ बताउनुहुन्छ । नर्सिङखोला क्षेत्रको करिब दुई किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको अनुमान गरिएको छ । पहाडको फेदीमा नुनिलो पानी निस्कने पाँच वटा सानाठुला मुहान छन् ।

२०७४ सालमा एक सरकारी टोली नुन खानी उत्खनन क्षेत्रमै पुगेर तयार गरेको प्रतिवेदनका आधारमा २०७७ सालमा खानी तथा भूगर्भ विभागले नुन खानी उत्खननका लागि प्रस्ताव आह्वान गरे पनि भौगोलिक विकटता, उत्खननमा जनशक्ति अभाव र लगानीसमेत डुब्ने जोखिमलाई आधार मानेर प्रक्रियामै सहभागी नभएको सरकारी अधिकारीको भनाइ रहेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, तेताङका वडा सदस्य धर्पो गुरुङले बताउनुभयो ।

करिब पाँच दशकअगाडिसम्म यही नुन खानीबाट मुस्ताङका साथै म्याग्दी, बागलुङ र पर्वतमा समेत नुन बिक्री गरी घरखर्च चलाउने गरेको ८२ वर्षीय मिन्दो गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले गाउँबाट बजार जाने नुन अहिले बजारबाट गाउँ आउँछ । के गर्नु उल्टो भएको छ ।”

पहिले पहिले मुस्ताङको नुन भन्दै खोसाखोस हुने गरे पनि अहिले संरक्षणको अभावमा पोखरी नै पुरिने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । नुनिलो पानी बग्ने स्थान आसपासका क्षेत्रमा दैनिक वन्यजन्तुसमेत खान आउने गर्छन् । सङ्घीयतापछि स्थानीय तहको गठनसँगै ‘हिमालयन साल्ट’ का रूपमा चर्चा गर्ने गरिएको छ । तत्कालीन समयमा बुढापाकाले भोटको नुन ल्याउन थाकखोला जाने गरेको अनुभव सुनाउने गरेको अवस्थामा तल्लो मुस्ताङबाटै फर्किने पर्यटक नुन खानीसम्म पुगेर अवलोकन गर्दछन् ।

मुस्ताङ प्राकृतिक सौन्दर्यसँगै कलात्मक पहाड, प्राचीन शैलीका घरका साथै नुन खानी, मुक्तिनाथ मन्दिर क्षेत्रमा ग्यास, युरेनियम र कोइलाको खानी भए पनि उत्खननमा सरकारी निकायबाट चासो पुग्न सकेको छैन ।गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us