काठमाडाैं । फेब्रुअरी २८ देखि ईरानमा सुरु भएको युद्धले अपेक्षाभन्दा धेरै छिटो र गम्भीर रूपमा एशिया–प्रशान्त क्षेत्रको अर्थतन्त्रमा असर देखिन थालेको छ। प्रारम्भमा तेल र ग्यास अभाव क्रमशः देखिने अनुमान गरिए पनि वास्तविकतामा छोटो समयमै जनजीवन र उत्पादन प्रणालीमा ठूलो धक्का पुगेको छ।
विज्ञहरूले यस अवस्थालाई पछि देखिएको सबैभन्दा ठूलो आर्थिक संकटसँग तुलना गरेका छन्। युद्ध छिट्टै अन्त्य भए पनि यसको असर दीर्घकालीन रहने संकेतहरू देखिएका छन्।
आगामी महिनाहरूमा उडान रद्द हुनु, खाद्य सामग्री महँगिनु, उद्योग बन्द हुनु, आपूर्ति ढिलो हुनु र दैनिक उपभोग्य वस्तु अभाव हुने जोखिम बढ्दै गएको छ।
अन्तर्राष्ट्रिय निकायहरू, विशेषगरी
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्व अर्थतन्त्र सुस्त बन्दै गएको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित हुँदा मिडल ईस्टबाट आउने ऊर्जा आपूर्ति अवरुद्ध भएको छ, जसले एशियाको आपूर्ति श्रृंखलामा गम्भीर दबाब सिर्जना गरेको छ। ऊर्जा निर्भरताका कारण एशिया–प्रशान्त क्षेत्र विशेष रूपमा जोखिममा परेको छ।
विशेषज्ञहरूका अनुसार हर्मुज जलडमरु क्षेत्रमा समस्या तत्काल समाधान भए पनि आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किन वर्षौं लाग्न सक्छ। चीनजस्ता ठूला अर्थतन्त्रहरूले केही हदसम्म सामना गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा संकट अझ गहिरिने देखिएको छ।
युद्धको सबैभन्दा प्रत्यक्ष असर यातायात क्षेत्रमा परेको छ। मार्च महिनामा विश्वभर ९२ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। जेट इन्धनको मूल्य झन्डै दोब्बर भएको छ र धेरै एयरलाइन्स सेवा कटौती गर्न बाध्य भएका छन्। पर्यटन उद्योगमा समेत गम्भीर असर परेको छ, दक्षिण एशियाली गन्तव्यहरूमा बुकिङ तीव्र रूपमा घटेको छ।
उद्योग र आपूर्ति श्रृंखलामा पनि संकट गहिरिँदै गएको छ। कच्चा पदार्थ अभाव हुँदा उत्पादन घटेको छ, गार्मेन्टदेखि सेमिकन्डक्टर उद्योगसम्म प्रभावित भएका छन्। कतारमा हीलियम उत्पादन अवरुद्ध हुँदा चिप निर्माणमा समेत असर देखिएको छ।
यो अवस्था “डोमिनो इफेक्ट” जस्तै एकपछि अर्को क्षेत्रमा फैलिँदै गएको छ। प्लास्टिक, सौन्दर्य सामग्री, कृषि मल, औषधि र उपभोग्य वस्तुहरूमा अभाव बढ्दो छ। यातायात महँगो हुँदा सामान बजारसम्म पुर्याउन कठिन भइरहेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार एशिया–प्रशान्त क्षेत्रमा मात्रै एक करोडभन्दा बढी मानिस गरिबीमा धकेलिन सक्ने जोखिम रहेको छ। रोजगारी घट्दै गएको, महँगी बढिरहेको र आधारभूत सेवामा पहुँच कमजोर हुँदै गएकोले सर्वसाधारण सबैभन्दा बढी प्रभावित भएका छन्।
विशेषज्ञहरूले यो संकटलाई “सुनामी” जस्तै तीव्र र व्यापक भन्दै चेतावनी दिएका छन्। साना व्यवसायहरू विशेष रूपमा संकटमा परेका छन्, आम्दानी उल्लेख्य रूपमा घटेको छ। संयुक्त राष्ट्रका अनुसार यस युद्धले एशिया–प्रशान्त क्षेत्रमा ९७ अर्बदेखि २९९ अर्ब डलरसम्म आर्थिक क्षति पुर्याउन सक्छ।
अमेरिका र इरानबीच तनाव कम भए पनि महँगी, आपूर्ति अवरोध र आर्थिक दबाबको असर दीर्घकालसम्म रहने देखिएको छ। विश्व अर्थतन्त्र अहिले अनिश्चितताको गहिरो चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ। एजेन्सीको सहयोगमा
तस्बिर: AI
