एकपटक रोप्दा दुई वर्षसम्म फल्ने धान : चीनको नयाँ आविष्कारले कृषि क्षेत्रमा क्रान्ति

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले जंगली धानमा ‘दीर्घ जीन’ को विशेषता पत्ता लगाएका छन् । यसबाट अब धान पनि बहुवर्षीय बाली बन्ने सम्भावना बढेको छ ।
हजारौं वर्षदेखि, विश्वका अन्य भूभागका किसानले झैँ चीनमा पनि किसानले मौसमपिच्छे धान रोप्ने र काट्ने गर्दैै आएका छन्। तर अब, चिनियाँ वैज्ञानिकहरूले यस्तो धान विकास गर्दै छन्, जुन एक पटक रोपेपछि वर्षौंसम्म टिक्न सक्छ।

चाइनिज एकेडेमी अफ साइन्सेजको एक अनुसन्धान टोलीले जंगली धानमा उनीहरूले ‘दीर्घजीन’ को तत्व पत्ता लगाएका छन् । उनीहरूले सफलतापूर्वक ती जीनहरू आधुनिक खेतीयोग्य धानमा मिसाएपछि नयाँ प्रकारको धान बनेको हो । यस्तो धान एक पटक फलेपछि काट्नुपर्दैन । पुनः केही समयपछि आफैँ फल्ने बताइएको छ ।

चीनको दक्षिणमा समुन्द्री टापुको रुपमा रहेको हैनान प्रान्तमा नयाँ धानका बेर्नाले अद्भुत जीवनशक्ति देखाएका छन्। धान काटेपछि सुक्नुको सट्टा, पुनः उम्रेका नयाँ टुसाबाट फेरि धान फलेको छ ।

चाइनिज एकेडेमी अफ साइन्सेजका शिक्षाविद् तथा उक्त अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक हान बिन भन्छन्, ‘हामीले अहिले प्रयोग गर्दै आएको धानको बीऊले वर्षमा दुईदेखि तीन पटक उत्पादन दिन्छ । यो दुई वर्षसम्म टिकेको देखिन्छ । बाली पाकेपछि त्यसको छेउमा नयाँ टुसाहरू उम्रिन्छन्।

यसले बलियो जीवशक्ति देखाएको छ । यसलाई हामी ‘दीर्घ जीन’ भन्छौं । यसबाट धानबाली सँधै हराभराको अवस्थामा हुने गरेको छ ।’

वैज्ञानिकहरूका अनुसार, यो नयाँ बहुवर्षीय धान विशेषगरी पहाडी र भिरालो जमिनका लागि उपयुक्त छ । ठूला मेसिनहरू प्रयोग गर्न नसकिने ठाउँमा यस्तो बीऊको प्रयोग उपयुक्त हुने देखिएको छ ।
वैज्ञानिकहरूको धानसम्बन्धी अध्ययनको विस्तृत विवरण मार्चको अन्त्यतिर साइन्स पत्रिकामा प्रकाशित भइसकेको छ ।
स्रोत : सिसिटिभी प्लस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2